कैलाली कारागार झडप प्रशासनभित्रको मतभेद कारण भएको निष्कर्ष

तु खबर संवाददाता
२०८२ भाद्र ५, बिहीबार ११:१४

गत साउन २३ गते कैलाली कारागारमा भएको हिंसात्मक झडप घटनाको छानबिन गर्न गठित समितिले कारागारको आन्तरिक प्रशासनमै मतभेद उत्पन्न भई घटना भएको निष्कर्ष निकालेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा गठन भएको पाँच सदस्यीय छानबिन समितिले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई बुझाएको प्रतिवेदनमा ‘ए ब्लक’ र ‘बी ब्लक’ बीच प्रशासनिक प्रभुत्व जमाउने प्रयासकै कारण कैदीबन्दीबीच पटक–पटक विवाद हुँदै आएको उल्लेख छ। यही विवाद हिंसात्मक झडपमा परिणत भएको प्रतिवेदनमा जनाइएको छ।

जोशीले घटनास्थलको अध्ययन, घाइते कैदीबन्दीसँग कुराकानी तथा कारागारको वस्तुस्थिति अवलोकनपछि आन्तरिक मतभेदकै कारण घटना भएको देखिएको बताए। उनले भने, “सीसीटीभी फुटेज प्रष्ट नदेखिएको र घाइतेले बताएका बयान मात्रै पर्याप्त नभएकाले घटनाको वास्तविकता उजागर गर्न सूक्ष्म र उच्चस्तरीय अनुसन्धान अपरिहार्य देखिएको छ।”

गत साउन २३ गते राति ‘ए ब्लक’ का कैदीबन्दीले भित्तामा प्वाल पारेर ‘बी ब्लक’ का कैदीमाथि आक्रमण गर्दा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको थियो भने ४८ जना घाइते भएका थिए। घाइतेमध्ये ३९ जना डिस्चार्ज भइसकेका छन् भने तीन जनाको काठमाडौँमा उपचार भइरहेको छ। सेती प्रादेशिक अस्पतालमा उपचाररत कैदीमध्ये केहीलाई कञ्चनपुर र नवलपरासी कारागारमा स्थानान्तरण गरिएको छ।

जोशीका अनुसार, आपसी विवाद र कारागारभित्रको प्रशासनिक नेतृत्वमा प्रभुत्व जमाउने प्रतिस्पर्धा नै हिंसात्मक अवस्थाको मूल कारण हो। उनले अपराध अनुसन्धानमा दक्ष सुरक्षाकर्मीमार्फत थप अनुसन्धान गर्नुपर्ने आवश्यकता औंल्याए।

घटनापछि सरकारले तत्कालीन प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई फिर्ता बोलाएर कृष्णप्रसाद लम्साललाई खटाएको छ। त्यस्तै, कारागार शाखा प्रमुखमा पनि नयाँ अधिकारी पठाइएको छ। १५० कैदी अटाउने क्षमता रहेको कैलाली कारागारमा हाल ६९७ जना कैदीबन्दी रहेका छन्।