पशुपति आर्यघाटमा शवबाट हड्डी निकाल्ने थप दुई जना पक्राउ

तु खबर संवाददाता
२०८२ श्रावण २९, बिहीबार १३:४०

काठमाडौं – पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट हड्डी र खरानी निकालेर बेच्ने गिरोहमा संलग्न रहेको आरोपमा थप दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–२ का ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरी बलानबिहुल गाउँपालिका–६ का ४१ वर्षीय मिश्रीलाल यादव रहेका छन्।

यसअघि, गणेशप्रसाद ढकाल (जीवनाथ ढकाल) र विनायक मैनालीलाई समेत यसै आरोपमा पक्राउ गरी गौशाला प्रहरी वृत्तमा अनुसन्धान भइरहेको थियो। उनीहरूलाई २३ साउनमा आर्यघाट–२ नम्बर चितामा जलिरहेको शवबाट हड्डी र खरानी निकालेर बेचेको आरोप लागेको थियो।

प्रहरीका अनुसार ठाकुरको साथबाट प्लास्टिकको पोकोमा राखिएको हड्डीको धुलो र खरानी जस्तो देखिने पदार्थ बरामद गरिएको छ।