बाजुराको बिच्छ्या खोलामा बाढी, दुई घर पुरिँदा १५ घर जोखिममा

काठमाण्डौ – बाजुराको हिमाली गाउँपालिका–१ स्थित बिच्छ्या खोलामा आएको बाढीले दुई घर पुरेको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार हिजो बेलुकी करिब ६ बजे आएको बाढीले स्थानीय नरेन्द्र बुढाको पसल र सञ्चलाल थापाको घर पुरेको हो।
बाढीले धनसिंह थापा, सब्बले थापा, लाल बहादुर थापा र गोताल थापाको घरमा आंशिक क्षति पुर्याएको छ।बाढीले झोलुङ्गे पुल, बिच्छ्या मावि, वडा नम्बर १ कार्यालय भवनसहित १७ वटा सरकारी संरचना क्षतिग्रस्त भएका छन् भने थप १५ घर जोखिममा परेका छन्।
जिल्ला प्रहरी कार्यालयले मानवीय क्षति नभएको जनाएको छ। बिच्छ्या खोला र कुवाडी खोला आसपासका बासिन्दालाई सतर्क रहन समेत आग्रह गरिएको छ।