पश्चिम नेपालतर्फ मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना

आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ। ती प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा र मधेश प्रदेशका केही भागमा मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षा हुने पूर्वानुमान छ।
मनसुनको न्यून चापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर रहेकाले आगामी २४ घण्टा नेपालका पूर्वी भूभागभन्दा पश्चिमतर्फ मनसुन बढी सक्रिय रहने देखिन्छ।यसको प्रभावस्वरूप देशभर सामान्यदेखि पूर्ण बदली भइरहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ।
आज राति पनि देशका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ। गण्डकी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा मधेश प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाले गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी वर्षा हुने भएकाले भूक्षय, बाढी, पहिरो, गेग्रान बहाव तथा सहरी र तराई क्षेत्रमा डुबानको जोखिम रहने चेतावनी दिएको छ। गएराति डोटी, बाजुरा, अछाम र भोजपुरमा धेरै पानी परेको छ भने काठमाडौँ उपत्यकासहित केही क्षेत्रमा अहिले पनि वर्षा जारी छ।