देशभर मनसुन सक्रिय, कतै अति ठूलो वर्षाको सम्भावना

काठमाण्डौ – आज सात वटै प्रदेशका कतीपय ठाउँमा ठूलो पानी पर्ने र कुनै ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशभर मनसुन सक्रिय रहँदै वर्षा बढ्ने मौसम पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ। मनसुनको न्यून चापीय रेखा तराई आसपास रहनुका कारण अहिले कोशी, मधेश, बागमती प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार मधेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा ठूलो वर्षा र एक/दुई स्थानमा अति ठूलो वर्षा हुने सम्भावना छ। गएराति उदयपुर, बाँके र डोटीमा ठूलो पानी परेको छ।
मौसम पूर्वानुमान महाशाखाले आउँदो २४ घण्टामा कतिपय स्थानमा अति ठूलो पानी पर्ने तर अवधि छोटो हुने अनुमान गरेको छ। आज राति गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभाग, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भागका धेरै स्थानमा, साथै अन्य प्रदेशका पहाडी र तराईका केही भागमा मध्यम वर्षा हुने सम्भावना छ।
नदी किनार, डुबान क्षेत्र र पहिरो जोखिम रहेका भूभागमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।