समृद्धिको सपना पूरा गर्न बानियाँलाई विश्वासको मत दिन्छौँ : एमाले नेता थपलिया
हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले नव नियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिने बताएका छन् ।
आज मंगलबार प्रदेशसभामा विश्वासको मत लिने क्रममा बोल्दै उनले प्रदेश सरकारद्वारा पेस भएको र प्रदेशसभाबाट पारित बजेट, नीति तथा कार्यक्रम कार्यान्वयनमा एकढिक्का भएर लाग्ने बताए । नेता थपलियाले निरास हुनुपर्ने अवस्था नरहेको समेत बताए ।
सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका लागि काम भइरहेको नेता थपलियाले बताए । उनले सभामा बोल्दै भौतिक पूर्वाधार र विकासको काम भएको सुनाए । यी हाम्रा प्रगति होइनन् र, उनले सदनमा प्रश्न गरे ।
समृद्धिको सपना पूरा गर्न अहिलेको राजनीतिक समिकरणबाहेकबाट संभव नभएको नेता थपलियाको धारणा छ ।
