देशका धेरै भागमा ठूलो पानीको सम्भावना, केही स्थानमा बिहानै भारी वर्षा

तु खबर संवाददाता
२०८२ श्रावण २६, सोमबार ०८:४४

काठमाण्डौ – आज देशका धेरै स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ। महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

त्यसैगरी, पहाडी भू-भागका धेरै स्थानहरूमा र मधेश प्रदेशलगायतका तराई भू-भागका केही स्थानमा मध्यम मात्राको वर्षा हुने सम्भावना छ।

रातिको पूर्वानुमान अनुसार, कोशी प्रदेशको पहाडी भू-भाग तथा मधेश प्रदेशसहित कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक–दुई स्थानमा ठूलो पानी पर्न सक्नेछ। यस्तै, मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा तराई भू-भागका धेरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ।

महाशाखाले आज बिहानै कञ्चनपुर, बर्दिया र सर्लाही जिल्लामा ठूलो पानी परेको तथ्यांक सार्वजनिक गरेको छ। यी स्थानहरूमा भारी वर्षाले केही स्थानीय क्षेत्रहरूमा जलमग्नता र बाढीको जोखिम बढाएको छ।

वर्षा वृद्धि संगसँगै महाशाखाले पहाडी क्षेत्रका नदी–नालामा पानीको बहाव बढ्ने, पहिरोको खतरा रहने र तराई क्षेत्रमा पानी थुनिने सम्भावना भएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।