अब संघीय अस्पतालहरूमा डिजिटल भुक्तानी सुरु

तु खबर संवाददाता
२०८२ श्रावण २१, बुधबार २०:०१

काठमाडौं । अब देशभरका सबै संघीय अस्पतालहरूमा डिजिटल माध्यमबाट सेवा शुल्क भुक्तानी गर्न सकिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अगुवाइमा संघीय अस्पतालहरूको सेवा प्रणालीलाई डिजिटल बनाउन सरकारले ठोस कदम अघि बढाएको छ ।

स्वास्थ्य मन्त्रालयले बुधबार सबै संघीय अस्पताल र प्रतिष्ठानहरूलाई पत्र पठाएर बिल भुक्तानी प्रणाली अनलाइन र क्युआरमार्फत डिजिटल बनाउने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

भीड व्यवस्थापन गर्न मन्त्री पौडेलले अघि सारेको नौ बुँदे सुधार योजना कार्यान्वयनमा लैजाने प्रक्रिया अन्तर्गत डिजिटल भुक्तानीको निर्णय गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

मन्त्री पौडेलले नागरिकलाई अस्पतालमा लामो लाइन र अनावश्यक भीडको सास्तीबाट मुक्त गराउन सेवा प्रवाहलाई सहज, छरितो र प्रविधिमैत्री बनाउने निर्देशन दिएका थिए ।

मन्त्रालय अन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाले डिजिटल भुक्तानीसम्बन्धी कार्यान्वयनको पत्राचारसँगै अनुगमन गर्ने तयारी थालेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, भीड व्यवस्थापन पनि अस्पतालहरूले मन्त्रालयसँग व्यक्त गरेको नौ बुँदे प्रतिबद्धताको एक महत्वपूर्ण अंश हो ।

डा. बुढाथोकीले अब अस्पतालहरूमाथि अनुगमन कडाइका साथ गरिने पनि स्पष्ट पारे ।

यस निर्णयसँगै संघीय अस्पतालहरूमा सेवा प्रवाह थप प्रभावकारी हुने, अस्पतालको प्रशासनिक दक्षता बढ्ने र सेवाग्राहीले सहज र सरल सेवा पाउने अपेक्षा गरिएको छ ।