दाङ, बाँके, बर्दियालगायत सात जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह

पछिल्लो ६ घण्टामा दाङ, बाँके र बर्दियामा भारी वर्षा भएपछि ती क्षेत्र हुँदै बग्ने बबई, पश्चिम राप्ती, डुडुवा खोलालगायतका नदीहरूमा आकस्मिक बाढीको जोखिम अत्यधिक रूपमा बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
दाङको तुलसीपुर, अम्बापुर, जलकुन्डी, बाँकेको पश्चिम राप्ती र सिक्टा, बर्दियाको मानपुरलगायत वर्षामापन केन्द्रहरूमा ठूलो पानी परेकाले ती क्षेत्रमा बहने साना तथा ठूला नदीहरूको जलसतहमा तीव्र वृद्धि भएको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, काभ्रे र मकवानपुर जिल्लामा बाढीको उच्च जोखिम देखिएको छ। साथै होचो भूभागमा डुबानको जोखिमसमेत रहेकाले ती क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहन जल तथा मौसम विभागले आग्रह गरेको छ।
महाशाखाले थप सातनजिल्ला — सङ्खुवासभा, रामेछाप, सोलुखुम्बु, दोलखा, सिन्धुपाञ्चोक, सिन्धुली, उदयपुर, सर्लाही, रौतहट, बारा, पर्सा, काठमाण्डौ, ललितपुर, भक्तपुर, चितवन, रुपन्देही, नवलपरासी पूर्व/पश्चिम, कपिलवस्तु, म्याग्दी, प्युठान र अर्घाखाँचीमा समेत बाढीको मध्यम जोखिम रहेको जनाएको छ।
आज दिउँसो लुम्बिनी, सुदूरपश्चिम, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा समेत भारी वर्षा हुने सम्भावना रहेकाले बाढी तथा डुबानको थप जोखिम हुन सक्ने भन्दै सबैलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।