कोशी, गण्डकी र लुम्बिनीमा ठूलो वर्षाको सम्भावना, मधेशमा वर्षाले राहत

तु खबर संवाददाता
२०८२ श्रावण १७, शनिबार ०९:४६
file-photo

नेपालमा सक्रिय मनसुनी वायुको प्रभावका कारण देशभर वर्षा भइरहेका बेला मौसम पूर्वानुमान महाशाखाले आज कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको जनाएको छ।

हाल कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो गण्डकी र लुम्बिनी प्रदेशसँगै देशका पहाडी भूभागका धेरै स्थानमा र तराईका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

रातको समयमा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा र अन्य प्रदेशका केही भागहरूमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना देखिएको छ। यसैक्रममा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

गएराति मधेश प्रदेशसहित देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भएको थियो। विशेषगरी रौतहट, सर्लाही, महोत्तरी, सिन्धुली, सिन्धुपाल्चोक, रामेछाप र कैलाली जिल्लामा मध्यम वर्षा भएको हो। यद्यपि, मधेशका केही भागमा वर्षा रोपाइँ तथा खेतमा सिँचाइका लागि पर्याप्त भने हुन सकेको छैन।

गत २४ घण्टामा मधेशका केही सुक्खाग्रस्त जिल्लामा उल्लेख्य वर्षा भएको छ। धनुषाको तुल्सी केन्द्रमा ६३.८ मिलिमिटर, हर्दिनाथमा ५१ मिलिमिटर, रौतहटको गौरमा ४४.६ मिलिमिटर र बाराको अमलेखगन्जमा ४६.४ मिलिमिटर वर्षा मापन भएको छ।

लामो समयदेखि सुक्खाग्रस्त बनेको मधेशमा शुक्रबारदेखि भएको वर्षाले राहत मिलेको जनाइएको छ। सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेको मधेशमा रोपाइँसमेत रोकिएको अवस्थामा पानी परेपछि कृषकले सास फेर्न पाएका छन्।