कर छली गर्न खोज्ने १२२ करदाता कारबाहीमा

तु खबर संवाददाता
२०८२ श्रावण २, शुक्रबार १२:१२

काठमाडौँ । लामो समयदेखि कर नतिर्ने १२२ जना करदाताविरुद्ध वाग्मती प्रदेशको हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले कडा कारबाही प्रक्रिया अघि बढाएको छ। मूल्य अभिवृद्धि कर (भ्याट), आयकर, अन्तःशुल्क तथा अग्रिम करकट्टीजस्ता विभिन्न शीर्षकमा बक्यौता तिर्न नसकेका करदातामाथि कारबाही सुरु गरिएको कार्यालयले जनाएको छ।

बक्यौता दाखिला नगर्ने करदाताहरूको नाम, विवरण र रकमसहितको अभिलेख तयार पारिएको छ। अब तोकिएको समयसीमा भित्र कर नबुझाएमा ती करदाताको बैंक खाता, घरजग्गा र सम्पत्ति रोक्का गर्नुका साथै आयात–निर्यात प्रक्रियामा पनि रोक लगाइने जनाएको छ ।

पछिल्लो समय आन्तरिक राजस्व कार्यालयले बजार अनुगमनलाई तीव्र बनाएको छ। नियमित अनुगमनका क्रममा केही व्यवसायीहरूले कर प्रणालीबाट उम्कन खोजेको प्रमाण भेटिएको हो ।

कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१।८२ मा करदाताको सङ्ख्यामा वृद्धि भए पनि कर संकलनको अनुपात भने अपेक्षित दरमा बढ्न सकेको छैन। यही कारणले गर्दा बक्यौता असुलीमा प्रशासनले सक्रियता बढाएको हो।

राजस्व प्रशासनको भनाइमा दायित्व नपुर्याउने करदातालाई कारबाहीको दायरामा ल्याउनुका साथै करप्रति जनचेतना अभिवृद्धि गर्ने र स्वेच्छिक रूपमा कर तिर्ने प्रणालीलाई प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ।