काठमाडौं महानगरपालिकाको बजेट, के- के छन् प्राथमिकता
काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि उपमेयर सुनिता डंगोलले २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँ बराबरको अनुमानित बजेट नगर सभामा प्रस्तुत गरेकी छन् । नगर सभाको १७औं अधिवेशनको पहिलो बैठकमा उनले नयाँ बजेटको विवरण सार्वजनिक गरेकी हुन् ।
उनका अनुसार आगामी वर्ष सन्चित कोषमार्फत २५ अर्ब ११ करोड ४३ लाख रुपैयाँ बराबरको व्ययभार हुने अनुमान गरिएको छ भने ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार रहनेछ । यसअघि आर्थिक वर्ष २०८१/८२ मा काठमाडौँ महानगरपालिकाले २४ अर्ब ९० करोड ६३ लाख रुपैयाँको बजेट पारित गरेको थियो ।
डंगोलले अगामी आर्थिक वर्षमा महानगरपालिकाले आन्तरिक स्रोत तथा बैंक मौज्दातबाट २० अर्ब १२ करोड ६४ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको जानकारी दिइन् । त्यसैगरी नेपाल सरकार र प्रदेश सरकारबाट शसर्त अनुदान, समानिकरण तथा राजस्व बाँडफाँडमार्फत ४ अर्ब ९८ करोड ७९ लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ ।
आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत बजेटमा सामाजिक विकास क्षेत्रलाई उच्च प्राथमिकता दिइएको छ । यस क्षेत्रका लागि ५ अर्ब २ करोड २८ लाख रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको २० प्रतिशत हो । पूर्वाधार विकास क्षेत्रमा १२ अर्ब ८० करोड ८३ लाख रुपैयाँ अर्थात कुल बजेटको ५१ प्रतिशत छुट्याइएको छ । सुशासन तथा अन्तरसम्बन्धित कार्यक्रमका लागि ३ अर्ब १ करोड ३७ लाख रुपैयाँ (१२ प्रतिशत) र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि ३ अर्ब ५१ करोड ६० लाख रुपैयाँ (१४ प्रतिशत) विनियोजन गरिएको छ । आर्थिक विकास क्षेत्रका लागि भने ७५ करोड ३४ लाख रुपैयाँ अर्थात ३ प्रतिशत बजेट छुट्याइएको छ ।
उनले काठमाडौं महानगरपालिकाको विकासका लागि विभिन्न प्राथमिकताहरू तय गरिएको उल्लेख गरिन् । फोहोरमैला व्यवस्थापन, विद्यालय शिक्षा प्रणालीको सुधार, सुशासन प्रवर्द्धन, शहरी स्वास्थ्य केन्द्रहरूको क्षमता अभिवृद्धि, ‘एक वडा एक उद्यम’ कार्यक्रमको प्रवर्द्धनजस्ता कार्यक्रमलाई प्राथमिकता दिइएको छ । साथै, सार्वजनिक यातायातको व्यवस्थापन, ध्वनि प्रदूषण न्यूनीकरण र ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरूको संरक्षण र प्रवर्द्धनका लागि पनि पर्याप्त बजेट विनियोजन गरिएको उनले बताइन् ।



