भ्रष्टाचार मुद्दा लागेका पूर्वमन्त्री बस्नेत विशेष अदालत हाजिर

काठमाडौं । पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री मोहनबहादुर बस्नेत विशेष अदालत हाजिर भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिदमा भ्रष्टाचार मुद्दा लागेका पूर्वमन्त्री बस्नेत अदालत हाजिर भएका हुन् ।
विशेष अदालतका सदस्यहरु तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बस्नेतको बयान हुने भएको छ । उनले अदालतमा उपस्थित हुन पाउ भनी निवेदन दिएपछि उनको बयान हुने भएको हो ।
बयान सकिएपछि उनको थुनछेक बहस हुने विशेष अदालतले जनाएको छ । मन्त्री भएका बेला टेरामक्स प्रविधि खरिद सम्बन्धी निर्णयमा बद्नियत राखी भ्रष्टाचार गरेको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेत विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको थियो ।
अख्तियारले भ्रष्टाचार मुद्धा दायर गरेपछि बस्नेतको सांसद पद निलम्बन भएको छ ।
यसअघि पतञ्जली प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्धा दायर गरेपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि अदालतमा निवेदन दिएका थिए । निवेदन परेसँगै उनको बयान भएको थियो भने ३५ लाख धरौटीमा उनी हिरासत बस्न नपर्ने आदेश विशेषको थियो ।