सामुहिक बलात्कारपछि ११ वर्षीया बालिकाको हत्या, प्रहरीद्वारा ५ अभियुक्त सार्वजनिक

काठमाडौं । सिन्धुपाल्चोकमा ११ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको छ । बलात्कारपछि हत्या गरेको आरोपमा ५ जनालाई पक्राउ गरिएको छ । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–५ की निशा तामाङको हत्यामा संलग्न भएको आरोपमा ५ जनालाई पक्राउ गरिएको सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले तु खबरलाई बताए ।
घटना असार १० गते अन्दाजी १० बजेर ३० मिनेटमा भएको र आरोपीलाई भर्खरै सार्वजनिक गरिएको कार्कीले बताए । बालिकालाई घरबाट लगेर पाँच जनाको समूहले बलात्कार पछि हत्या गरेको पाइएको एसपी कार्कीले बताए ।
भोटेकोशी गाउँपालिका वडा नं. ५ मार्मिङ बस्ने वर्ष २१ को निमा तेन्जिङ तामाङ, , वर्ष ३२ को न्यामगाल शेर्पा, वर्ष २० को दावा तामाङ, वर्ष २२ को लाक्पा पासाङ तामाङ र वर्ष २२ को वाङनिमा तामाङलाई प्रहरीले बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ गरेको छ र आजै उनीहरुलाई सार्वजनिक गरिएको हो ।
बाह्रबिसे अन्दाजी २२ किलो मिटर उत्तरमा पर्ने घटना स्थलमा निर्वस्त्र अवस्थामा बालिकाको शव भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । घटनाको सम्बन्धमा असार ११ मा प्रहरीले सूचना पाएको थियो । उनको शव भोटोकेशी गाउँपालिका वडा नं. ५ छपाङ्दीको जंगलमा भेटिएको थियो ।
प्रहरी उपरीक्षक कार्कीको नेतृत्वमा गएको टोलीले घटनाबारे अनुसन्धान गरेको थियो । घटनास्थलको अनुसन्धान, सबुत संकलन, सोधपुछ र तालिम प्राप्त कुकुरको सहयोग लिएर अभियुक्तहरुलाई पक्राउ गरिएको हो ।