भीमफेदी गाउँपालिकाको बजेट ९० करोड ६ लाख : कृषि उपज प्रशोधन केन्द्र स्थापना प्राथमिकतामा

हेटौंडा । भीमफेदी गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सभासमक्ष प्रस्तुत गरेको छ । पालिका अध्यक्ष हिदम लामाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष संजीव श्रेष्ठले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् ।
चालु आर्थिक वर्षमा ८५ करोड ४५ लाख ८७ हजार ९ सय ९८ रुपैयाँ २० पैसाको बजेट प्रस्तुत गरेको गाउँपालिकाले यस पटक ९० करोड ६ लाखको बजेट ल्याएको छ ।
आज प्रस्तुत भएको नीति तथा कार्यक्रमले समग्र भीमफेदी गाउँपालिकालाई विकसित बनाउन महत्वपूर्ण योगदान पुर्याउने अध्यक्ष हिदम लामाले बताए । भीमफेदीका प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने, ऐतिहासिक भीमफेदी सहरलाई पुर्नजागृत गरी सास्कृतिक सहरको रुपमा विकास गर्ने, नीजि क्षेत्रलाई केबलकार निर्माण गरी पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न अवाश्यक सहजीकरण गर्ने योजना पालिकाको छ । प्रस्तुत नीति तथा कार्यक्रम अनुसार, आगामी आर्थिक वर्षमा गाउँपालिकाले पालिका क्षेत्रभित्र उत्पादन हुने हरियो तरकारीहरु रायोको साग, मुला, बन्दा, काउलीको उचित बजार मुल्य पाउने गरी प्रदेश सरकारको सहयोगमा कृषि उपज प्रशोधन केन्द्र स्थापना गर्ने तयारी गरेको छ । पालिकाभित्र दर्ता हुने व्यवासयिक प्रतिष्ठानहरुलाई निशुल्क दर्ता गर्ने व्यवस्था गरिएको छ भने लगानीमैत्री वातावरण बनाउन नीतिगत र कानूनी व्यवस्था गर्ने लक्ष्य पालिकाको छ ।
अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराएर चर्चामा रहेको भीमफेदी गाउँपालिकाले आगामी आर्थिक वर्षमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने भएको छ । यसमा पालिकाका स्वास्थ्य महिला स्वयम् सेविकाहरुलाई पनि आवद्ध गराउने नीति लिइएको अध्यक्ष लामाले बताए । यसअघि अनौपचारिक क्षेत्रका श्रमिकहरुका निम्ति सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने कार्यक्रममा अध्यक्ष लामाले आगामी आर्थिक वर्षबाट महिला स्वयम सेविकाहरुलाई पनि सहभागी गराउने घोषणा गरेका थिए, सोही घोषणालाई कार्यान्वयन गर्न लागिएको हो ।
त्यस्तै शिक्षाको माध्यमबाट सभ्य, खुसी, सुखी,शान्त,सुसस्कृत, शिक्षित, समृद्ध र समतामूलक निर्माण गर्ने लक्ष्य भीमफेदीले राखेको उपाध्यक्ष संजीव श्रेष्ठले बताए । त्यसका लागि नीति तथा कार्यक्रममा महत्वपूर्ण व्यवस्थाहरु गरिएको उनको भनाइ छ । घरेलु उत्पादनमा आधारित दिवा खाजा ढाँचा अपनाउने योजना पालिकाको छ । प्राविधिक तथा उत्पादनमूलक शिक्षा, समृद्ध भीमफेदीको इच्छा नारालाई मूर्त रुप दिन प्राविधिक र माटो सुहाउँदो शिक्षालाई निरन्तरता दिइने भएको छ । आगामी आर्थिक वर्षबाट तामाङ भाषामा अध्ययन अध्यापनको व्यवस्था मिलाउने गरी नीति सार्वजनिक गरिएको छ । शुक्रबारलाई किताव रहीत दिनको रुपमा लागू गर्ने तयारी गाउँपालिकाको छ । सो दिन अतिरिक्त कृयाकलाप, खेलकुद, सिप सिकाई, मोबाइल, कम्प्युटर मर्मतजस्ता प्राविधिक र समय सुहाउँदो शिक्षा प्रणालीको विकास गर्ने पालिकाको योजना छ । विज्ञान प्रविधिको विकास गर्न र पालिकाभित्र अध्ययनरत विद्यार्थीहरुलाई गणित, विज्ञानजस्ता विषयहरुमा नयाँ खोजप्रति आकर्षिक गर्न स्टिम क्याम्प संचालन गर्ने योजना पालिकाले सार्वजनिक गरेको छ ।
त्यस्तै पालिकाले विपन्न नागरिक उपचार सहायता आकस्मिक कोषको स्थापना गर्ने भएको छ ।
त्यस्तै पालिकाले खानेपानी, सस्कृति प्रवद्र्धन र सम्पदाको संरक्षण, लैगिंक समानता तथा समाजिक समावेशीकरणलगायतका क्षेत्रहरुमा पनि सबल योजनाहरु ल्याइएको प्रमुख प्रशासकीय अधिकृत जीवन कुंवरले बताए । पालिकाभित्र निकै समस्याको रुपमा रहेको विपद् व्यवस्थापन तर्फ पनि पालिकाले विभिन्न कामहरु गर्ने भएको छ । पालिकाको वन क्षेत्रको संरक्षण, विकास र बहुउपयोग गर्ने नीति लिइएको गाउँपालिकाले जनाएको छ । नीति अनुसार, वातावरणीय क्षति कम गर्ने र सामुदायिक वनलाई थप जिम्मेवार बनाउने नीति छ ।
हेर्नुहोस् नीति तथा कार्यक्रम