सवारी दूर्घटनामा हेटौंडाका एकै परिवारका तीन जनाको मृत्यु

तु खबर संवाददाता
२०८२ असार ७, शनिबार २१:५९

हेटौंडा । हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको माइक्रोबस र धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको यात्रुबाहक बस आपसमा ठोक्किएर दुर्घटना हुँदा हेटौंडाका एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

आमा छोरा र बुहारीको दूर्घटनामा परी मृत्यु भएपछि उनको टोलमा सन्नाटा छाएको छ । हेटौंडा ५ बानियाँटोल निवासी रेणुका कँडेल पहाडी सुत्केरी गराउन आफ्नो श्रीमान् सरोज पहाडी र सासु मैया पहाडीसित चितवन हिँडेकी थिइन् । डाक्टरले सुत्केरी हुने मिति आइतबारलाई दिएपछि उनीहरु आज शनिबार चितवनतर्फ हिँडेका थिए ।

सरोजका मामा नवराज पहाडीले आफ्नै गाडी लिएर जान भनेका थिए, तर उपचार गरेर फर्कँदा केही दिन लाग्ने भएकाले उनीहरु सार्वजनिक सवारी प्रयोग गर्ने निधोमा पुगेका थिए ।

दूर्घटनापछि मामा नवराज पहाडीले आफन्तहरुको सनाखत गरेका छन् । यही दूर्घटना थप ४ जनाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । दूर्घटनामा हेटौंडा ४ का सोमप्रसाद रुपाखेती, माइक्रो चालक हेटौंडा १० का राजु थिङ, रौतहटकी सिता चौधरी र नाम नखुलेकी अर्की एक युवतीको मृत्यु भएको छ ।

घाइतेहरुको चितवनमा रहेको विभिन्न अस्पतालहरुमा उपचार भइहरेको छ ।