प्रजिअद्वारा समाचार संकलनमा रोक लगाइएको भन्दै प्रेस युनियनको ध्यानाकर्षण

तु खबर संवाददाता
२०८२ असार ६, शुक्रबार १६:५५

हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा समाचार संकलन गर्न पुगेका पत्रकारहरुलाई प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले भिडियो तथा फोटो खिच्न नदिएको भन्दै नेपाल प्रेस युनियनले ध्यानाकर्षण भएको जनाएको छ ।

हेटौंडा उपमहानगरपालिका १ का वडाध्यक्ष सविन न्यौपानेमाथि आक्रमण भएको विषयमा शुक्रबार नेपाली कांग्रेस मकवानपुरले ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम राखेको थियो सो कार्यक्रमको समाचार संकलन गर्न पुगेका पत्रकारहरुलाई रोक लगाएको नेपाल प्रेस युनियनका अध्यक्ष सुवास विडारीले बताए ।

पत्रकारहरुलाई सिडिओको निर्देशनमा दृश्य छायांकन र समाचार संकलनमै रोक लगाइयो, विडारीले भने ।

नेपाल पत्रकार महासंघ मकवानपुरकी उपाध्यक्षसमेत रहेकी नेपाल टेलिभिजनकी पत्रकार भावना रिजाल, रातोपाटीका पत्रकार गणेश दुलाल, टिम टेलिभिजनका मनिल महत्तो लगायतका पत्रकारहरुलाई कार्यालयमा छिर्न, दृश्य खिच्न र समाचार संकलन गर्न रोक लगाइएको थियो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी राजेन्द्र प्रसाद कडेलले त्यस्तो कुनै घटना नभएको प्रतिक्रिया दिएका छन् । पत्रकारलाई सूचना संकलनमा रोकिएको छैन, उनले तु खबरसँग भने ।