बोर्डका अध्यक्ष श्रेष्ठको निवेदन खारेज

तु खबर संवाददाता
२०८२ असार ५, बिहीबार १९:००
file-photo

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नेपालखबर र बिजमान्डु विरुद्ध दायर गरेको निषेधाज्ञा निवेदन काठमाडौं जिल्ला अदालतले खारेज गरेको छ। जिल्ला न्यायाधीश श्यामविहारी मौर्यको इजलासले दुई दिनसम्मको सुनुवाइपछि बिहीबार उक्त फैसला सुनाएको हो।

यससँगै नेपालखबर र बिजमान्डुले अध्यक्ष श्रेष्ठबारे प्रकाशित गरेका समाचार सामग्रीहरू हटाउनुपर्ने बाध्यता हटेको छ। श्रेष्ठले बिचौलियामार्फत घुस मागेको आशंकासम्बन्धी समाचार प्रकाशित भएपछि उनले नेपालखबर र बिजमान्डुविरुद्ध निषेधाज्ञा माग गर्दै निवेदन दायर गरेका थिए।

यसअघि जेठ २७ गते न्यायाधीश पीताम्बर शर्माको इजलासले एकपक्षीय सुनुवाइपछि अल्पकालीन अन्तरिम आदेश जारी गर्दै श्रेष्ठसम्बन्धी प्रकाशित समाचार हटाउन र नयाँ समाचार सामग्री प्रकाशन नगर्न आदेश दिएको थियो। सो आदेशपछि दुवै सञ्चार माध्यमलाई लिखित जवाफ पेश गर्न आदेश दिँदै बुधबार छलफलका लागि अदालतमा झिकाइएको थियो।

बुधबार प्रतिवादी नेपालखबर र बिजमान्डुको तर्फबाट बहस पूरा भएको थियो भने बिहीबार श्रेष्ठका वकिलले जवाफी बहस गरेका थिए। श्रेष्ठले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन आग्रह गरेका थिए। तर, प्रतिवादीहरूले श्रेष्ठ सार्वजनिक पदमा बसेका कारण उनको कार्यसम्पादनमाथि प्रश्न उठ्नु स्वाभाविक भएको तर्क गर्दै निवेदन खारेज गर्न माग गरेका थिए।

दुई दिनसम्म चलेको बहसपछि न्यायाधीश मौर्यको इजलासले निषेधाज्ञा निवेदन खारेज गर्ने फैसला सुनाएको हो।