राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

तु खबर संवाददाता
२०८२ असार ४, बुधबार १९:०८

काठमाडौं । काठमाडौं महानरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने प्रमुख प्रशासकीय अधिकृतको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई अनुशासन पालना नगरेको लगायतका आरोपमा निलम्बनको निर्णय गरेका थिए । सो निर्णयका विरुद्ध पाण्डे उच्च अदालत पुगेका हुन् ।

महानगरपालिकामा हाजिर गर्न पुगेका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई रोकेको आरोप उनीमाथि छ । पछि उपप्रमुख सुनिता डंगोलको निर्देशनमा उनले हाजिर गरेका थिए । महानगर प्रहरी परिचालन सम्बन्धी कानूनमा नगर प्रहरीको परिचालन, निर्देशन र नियन्त्रण प्रमुख प्रशासकीय अधिकृतले गर्ने व्यवस्था छ ।

सो व्यवस्था विपरित नगर प्रमुख बालेन साहको मौखिक निर्देशनमा प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोकेपछि पाण्डे विवादमा आएका थिए । उनलाई नगर प्रहरीले कार्यालय छिर्न नदिने प्रयास गरेको भएपछि गुरागाईं हाजिर भएका थिए ।

उच्च अदालत पाटनका न्यायाधीश ऋषिराज भण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले सो सम्बन्धमा अन्तरिम आदेश दिएको हो । उक्त निर्णय यथास्थितिमा राख्दै तत्काल कार्यान्वयन नगर्न आदेश पनि उच्चको आदेश छ । अब रिट निवेदनमाथि अन्तिम टुंगो नलाग्दासम्म पाण्डेले महानगर प्रहरी प्रमुखको रुपमा कामकाज गर्न पाउने छन् ।