अमेरिकाबाट डिपोर्ट ३७ नेपाली काठमाडौंमा अवतरण

तु खबर संवाददाता
२०८२ जेष्ठ २६, सोमबार ११:३८

अमेरिकाले डिपोर्ट गरेका ३७ नेपाली नागरिक बोकेको चार्टर्ड विमान आइतबार काठमाडौं अवतरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अनुसार उक्त चार्टर्ड विमान आइतबार राति करिब ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । विमान आइतबार दिउँसो ४ बजे काठमाडौंमा अवतरण हुने भनिएपछि ५ घण्टा ढिला भएको हो ।

अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत तथा सूचना अधिकारी अञ्जन न्यौपानेका अनुसार अमेरिकाबाट डिपोर्ट हुनेहरूमा ३२ पुरुष र ५ महिला रहेका छन् । सुरुमा ४८ जना नेपाली डिपोर्ट हुने भनिएपनि केही व्यक्तिको यात्रा रोकिएपछि ४२ जना नेपाली डिपार्ट हुन लागेको अध्यागमन कार्यालयले जानकारी प्राप्त गरेको थियो । ४२ जना नेपालीहरुमा पनि केहीको यात्रा रोकिएपछि अन्तिममा ३७ जना नेपाली काठमाडौं उत्रिएका हुन् ।

अमेरिकी आप्रवासन र भन्सार प्रवर्तन (आइस) को चार्टर्ड विमानमार्फत डिपोर्ट गरिएका नेपाली नागरिकहरू अमेरिकामा बस्नका लागि कानुनी आधार नभएका हुन् । ओम्नी एयरलायन्सको ‘ओवाई ३१४६’ उडानबाट उनीहरूलाई बङ्गलादेशको ढाका हुँदै नेपाल फर्काइएको हो ।

सूचना अधिकारी न्यौपानेका अनुसार डिपोर्ट भएकाहरूलाई नियमित प्रक्रिया पूरा गरी मानव बेचबिखन नियन्त्रण ब्युरोलाई जिम्मा लगाइएको छ । यति धेरै सङ्ख्यामा नेपालीहरूलाई अमेरिकाबाट एकै पटक चार्टड विमानमार्फत डिपोर्ट गरिएको यो पहिलो पटक हो ।

उनीहरूमध्ये ठुलो सङ्ख्या दलाललाई १ लाख डलरसम्म तिरेर मेक्सिको हुँदै विना भिसा अमेरिका छिर्नेहरूको समेत रहेको जनाइएको छ ।

अमेरिकाले सन् २०२५ को मे महिनामा मात्रै ५८ जना नेपाली नागरिकलाई डिपोर्ट गरेको थियो, जुन अघिल्लो महिना अप्रिलको तुलनामा दोब्बरभन्दा बढी हो। अप्रिलमा अमेरिकाबाट डिपोर्ट हुने नेपालीहरूको संख्या २६ जना रहेकोमा मे महिनामा झन्डै १२३ प्रतिशतले वृद्धि भएको थियो।