गभर्नर बन्न खोजेका गुणाकर भट्टको राजीनामा अस्वीकृत

तु खबर संवाददाता
२०८२ जेष्ठ ११, आईतवार १७:५१

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर बन्न कार्यकारी निर्देशक पदबाट राजीनामा गरेका डा. गुणाकर भट्टको राजीनामा अस्वीकृत भएको छ ।

गभर्नर डा. विश्वनाथ पौडेलले भट्टको राजीनामा अस्वीकृत गर्दै आफ्नै सचिवालयमा सरुवा गरेको बुझिएको छ । कार्यकारी निर्देशक भट्टले गभर्नर बन्ने उद्देश्यले गत बैशाख ५ गते राजीनामा दिएका थिए । डा. भट्ट गभर्नर बन्ने अन्तिम तयारीमा पुगेपनि नेपाल राष्ट्र बैंकमा दिएको राजीनामा स्वीकृत नभएपछि गभर्नर बन्न पाएका थिएनन् ।

गभर्नर बन्न नदिने उद्देश्यले राजीनामा स्वीकृत नगरी अलपत्र पारेपछि भट्ट हाल अमेरिका पुगेका छन् । राष्ट्र बैंक स्रोतका अनुसार राजीनामा स्वीकृत नगरेकै अवस्थामा गत बैशाख महिनाको तलव खातामा आएपछि कार्यकारी निर्देशक भट्टले राष्ट्र बैंकमै फिर्ता गरिदिएका थिए ।

पछिल्लो परिवर्तित अवस्थामा भट्ट काममा फर्कन तयार भएको राष्ट्र बैंकका अधिकारीहरुको भनाई छ ।