रवी लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर

तु खबर संवाददाता
२०८२ जेष्ठ ९, शुक्रबार २१:०९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत बुटवल इजलासको आदेशलाई सर्वोच्च अदालतले सदर गरेको छ ।

लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग राखी उनकी पत्नी निकिता पौडेलले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गर्दै न्यायाधीशहरू डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले उनलाई थुनामै राखी मुद्धाको पुर्पक्ष गर्न आदेश दिएको हो ।

सर्वोच्च अदालतको यो आदेशपछि रुपन्देही जिल्ला अदालतबाट सुप्रिम सहकारी ठगीको मुद्दा नटुंगिदासम्म रवि थुनामा हुने अवस्था बनेको छ ।
लामिछाने पत्नी पौडेलले नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालय सिंहदरवार काठमाडौँ , रुपन्देही जिल्ला अदालत, उच्च अदालत तुलसीपुर बुटवल इजलास , जिल्ला प्रहरी परिसर काठमाण्डौ , कारागार कार्यालय रुपन्देही र जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

गत ६ गतेदेखि हेर्दाहेर्दैमा रहेको सो रिटको केहीबेर अघि फैसला आएको हो ।