चित्रकला साधनामा समर्पित थिए हिरालाल डङ्गोल र समर्पित छन् परिवार
रमेश फुल्लेल / काठमाडौं
काठमाडौँको पुरानो सुनलाङकोट (हालको खसी बजार) मा वि.सं. १९९६ साल मसिर २२ गते जन्मिएका चित्रकार हिरालाल डङ्गोल नेपाली चित्रकलाको क्षेत्रमा एक विशिष्ट नाम हो।
जीनवको एकमुठ्ठी सास छउन्जेल पनि उनले चित्रकलाको लागि खर्चिए र अहिले सोही कर्मका कारण उनी अमर छन् ।
हिरालालको बाल्यकाल दरबार हाईस्कुलमा अध्ययन गर्दै बित्यो र त्यहिबाट एसएलसी पास गरे। सानो छँदा पुलको मुखमा बसेर मानिसहरूको स्केच बनाउँदै रमाउने उनको कला प्रतिको मोह त्यहीँबाट सुरु भएको हो।
काठमाडौँको घरेलु कार्यालयबाट चित्रकलाको प्रारम्भिक शिक्षा लिएका डङ्गोलको जीवनको एउटा निर्णायक मोड तब आयो, जब उनको भेट जर्मन चित्रकार मि. म्यानसँग भयो। त्यसपछि उनले पौवाचित्र बनाउन सुरु गरे । घरमै पौवाचित्र तयार पारेर दरबार स्क्वायर र बसन्तपुरका पसलहरूमा बेच्दै उनले आफ्नो जीविकोपार्जन सुरु गरे ।

कलामा अझ निखार ल्याउन उनले नेपालका सुप्रसिद्ध चित्रकार लैनसिंह बाङ्देल सँग सम्पर्क गरेको डङ्गोल स्मरण गर्छन् । यसै क्रममा अमेरिकन चराविज्ञ डाक्टर फ्लेमिङ र रोब फ्लेमिङ जुनियरसँगको भेटबाट उनको जीवनमा अर्को मोड आयो। उनीहरुसँग वि।सं। २०२७ देखि नेपालका चराहरूको अध्ययन गर्दै पाँच वर्षको कठोर मेहनत अनुसन्धानपछि २०३२ मा द बर्ड अफ नेपाल नामक पुस्तक प्रकाशित भयो, जसमा ८६० प्रजातिका चराहरूको सन्दर्भ समावेश छन्।
यस ऐतिहासिक कामपश्चात उनले केही समय सरकारी सेवामा प्रवेश गरे तर वि।सं। २०३६ तिर डङ्गोल बर्ड आर्ट ग्यालरी स्थापना गर्दै आफ्नो कलात्मक यात्रामा फर्किए। पौवाचित्रमा समय बढी लाग्ने र ग्राहक कम हुने भएपछि प्रकृति र चराहरूको चित्र बनाएर राम्रो आम्दानी गर्न थाले । उनका दुई छोराहरू पुष्पलाल र ईश्वर, र छोरीहरू मिना, प्रतिमा पनि चित्रकलामा दक्ष छन्।
वि.सं. २०७३ साल चैतमा पेटको रोगका कारण उनको निधन भएपछि ग्यालरीको जिम्मेवारी कान्छा छोरा ईश्वर डङ्गोल ले सम्हाले ।

वि.सं. २००२ मा भारतको बेंगलोरमा आयोजित सम्मेलनमा स्वयम्भु र पशुपतिनाथ को मिश्रण गरेर बनाएको गेट प्रदर्शनीको चित्र आकर्षणको केन्द्र बन्यो। त्यहाँ उनको भेट रसियन चित्रकार प्रोफेसर एलिना गोरोखोभासँग भयो, जो डिटो आर्टमा विश्वप्रसिद्ध थिइन्। एक वर्षपछि डङ्गोलको निमन्त्रणामा नेपाल आउनुभई तीन वर्षसम्म उनलाई प्रशिक्षण दिइन्, पछी उनले मास्टर लेवल को चित्रकला अध्ययन सम्पन्न गरे ।
डङ्गोल ले सन् २०१२ मा अमेरिकाको वासिङ्टन डीसीमा आयोजित ग्लोबल नेपाल फेस्टिभल मा चित्रकला प्रदर्शनी समेत गरे । त्यसैगरी सन् २०१६ मा काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा आयोजित बर्ड अफ नेपाल, द आट्र्स अफ हिरालाल डङ्गोल एण्ड हिज फेमिली प्रदर्शनीले नेपाली चित्रकलाको इतिहासमा महत्वपूर्ण स्थान ओगट्यो। सन् २०२१ मा अमेरिकाको लस एन्जलेसमा मा सासा ग्रुप एक्जिविसन मा पनि सहभागिता जनाए।
उनले काठमाडौँका विभिन्न प्रसिद्ध विद्यालयहरूमा शिक्षण गर्नुका साथै, आफ्नै निवासबाट स्कुल र सब-लेवलका विद्यार्थीहरूलाई चित्रकलाको प्रशिक्षण दिँदै आएका थिए। अहिले उनको परिवारका नातिनातिनी समेत चित्रकलामा पोख्त छन्, र सम्पूर्ण परिवार यस विधामा समर्पित भएर रमाइरहेका छन्।
हिरालाल डङ्गोल को योगदान केवल एक कलाकारको रूपमा मात्र नभई, सम्पूर्ण परिवार र समाजलाइ चित्रकलाको माध्यमबाट सृजनात्मक जीवनशैलीमा लगानी गराउने प्रेरणाको स्रोत पनि हो। उनको कलायात्रा नेपाली चित्रकला इतिहासमा अमिट रहिरहनेछ।
