रवीन्द्र मिश्रलाई थुनमुक्त गर्न सर्वोच्चको आदेश

तु खबर संवाददाता
२०८२ जेष्ठ ४,शनिबार ०७:१५

काठमाडौं । सर्वोच्च अदालतले राप्रपाका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश दिएको छ । न्यायधीशहरु कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासले मिश्रलाई थुनामुक्त गर्न बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको हो ।

मिश्रबिरुद्धको अधिकांश प्रमाणहरु संकलन भइसक्दा पनि प्रमाण संकलनका लागि भन्दै निरन्तर ५० दिनदेखि थुनामा राखिएकोमा सो थुना गैरकानूनी भएकोले थुनामुक्त गर्न अदालतले आदेश दिएको हो ।

उनीविरुद्धको अधिकांश प्रमाण संकलन भइसकेको, थप प्रमाण आवश्यक परे संकलन गर्न सकिने नै अवस्था भएको अदालतको ठहर छ । सर्वोच्च अदालतले उनलाई हिरासतमै राख्नुपर्ने प्रहरीको जिकिरको औचित्य पुष्टि हुन नसकेको समेत ठहर गरेको छ ।

मिश्रलाई हिरासतमै राख्नुपर्नेसम्मको अवस्था नदेखिँदा पछि मुद्दा चल्ने अवस्था आएमा वा थप प्रमाण बुझ्नुपर्ने भएमा जिल्ला प्रहरी कार्यालयले खोजी गरेका बखत उपस्थित गराउने गरी कानुन व्यवसायीको जिम्मा लगाई तत्काल थुनाबाट मुक्त गरी दिनू, सर्वोच्च अदालतको संक्षिप्त आदेशमा उल्लेख छ ।

राजावादीहरुको काठमाडौं केन्द्रीत प्रदर्शनमा हिंसा फैलाएको आरोप लगाउँदै उनलाई पक्राउ गरिएको थियो । त्यसयता विभिन्न बाहना बनाउँदै प्रहरीले म्याद थप गर्दै आएको थियो । यसको चौतर्फी विरोध समेत भएको थियो ।