टेरामक्स खरिद प्रकरणमा सांसद मोहन बस्नेतसहित १६ जनाविरुद्द भ्रष्टाचारको मुद्दा दायर

तु खबर संवाददाता
२०८२ जेष्ठ १, बिहीबार १४:१२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिद प्रकरणमा पूर्वमन्त्री एवं कांग्रेस सांसद मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले योग्यता नपुग्ने प्रस्तावदाताको गलत प्रतिवेदन तयार पारी सर्वोच्चको आदेअनुसारको कानूनी व्यवस्थासमेत नगरी राज्यको सम्पत्ति हानीनोक्सानी गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।

आयोगले बस्नेतसहित पूर्व कानून सचिव धनराज ज्ञवाली, दुरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनाल, प्राधिकरणकै तत्कालीन सदस्यहरू धनराज ज्ञवाली र टिकाप्रसाद उप्रेती, प्राधिकरणका निर्देशक विजयकुमार राय, सुरेन्द्रलाल हाडा र दिपेश आचार्य, उपनिर्देशकहरू रेवतीराम पन्थ, सुरेश बस्नेत, हरिण्यप्रसाद बस्ताकोटी, अच्युतानन्द मिश्र र सन्जीव अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

परामर्शदाता भ्यानराइज सोलुसन्स् (एसएएल अफसोर) र उक्त कम्पनीका सीईओ जमाल अनौती, स्थानीय एजेन्ट कनेक्सन ट्रेड लिंक प्राइभेट लिमिटेड र सोका अध्यक्ष दिलिपकुमार गुरुङ तथा निर्देशक तेजप्रसाद खरेलविरुद्ध पनि राज्यको सम्पत्तिको दुरुपयोग गरी हानी नोक्सानी पुर्‍याएकोमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । उनीहरूसँग ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रूपैयाँ बिगो दाबी गरिएको छ ।