महिन्द्राको स्कोरपियो दुर्घटना हुँदा श्रीमान्-श्रीमतीको मृत्यु

काठमाडौँ । सानीभेरी गाउँपालिका–१० तिमिलेमा स्कोरपियो दुर्घटना हुँदा एक दम्पतीको ज्यान गएको छ । दाङबाट कुलपूजामा सहभागी हुन सानीभेरी आएका नरबहादुर ओलीसहित उनका परिवार चढेको लुम्बिनी प्रदेश ०२००१ च ०१७७ नम्बरको डबल क्याब स्कोरपियो शनिबार दिउँसो तिमिलेमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी सानीभेरी–१० सार्कीमारे स्थायी ठेगाना भई हाल दाङमा बस्दै आएका ५० वर्षीय नरबहादुर ओलीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनापछि गम्भीर घाइते भएकी उनकी ४४ वर्षीया पत्नी लीला ओलीलाई चौरजहारीतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
स्कोरपियोमा सवार नरबहादुरकी माइली आमा र गाडी चालक गम्भीर घाइते भएका छन् । दुवैलाई उपचारका लागि चौरजहारीस्थित मिसन अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।
दाङबाट आएका चालकसहित ४ जना सवार रहेको स्कोरपियो तिमिलेमा शनिबार दिउँसो करिब २ बजेतिर दुर्घटनामा परेको हो ।