मकवानपुरमा खोलाले बगाएर दुई जनाको मृत्यु

तु खबर संवाददाता
२०८१ आश्विन १७, बिहीबार १०:००
File Photo

मकवानपुर । मकवानपुरमा खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ । जिल्लाको मनहरी र मकवानपुरगढी गाउँपालिकामा खोलाले बगाएर दुई जनाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

मकवानपुरगढी गाउँपालिका–५ मा रहेको ज्यामिरे खोलाले बगाएर बुधवार बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरगढी–५ सिमलटार बस्ने ६४ वर्षीया गोमाकुमारी दमाई रहेका छन् ।

प्रहरीका अनुसार, ज्यामिरे खोलाले बगाएर उनको शव सामरी खोलामा भेटिएको हो । शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा लगिएको छ ।

यसैगरी, मकवानपुरको मनहरी गाउँपालिका–६ का ५५ वर्षीय भद्रबहादुर राईको पनि खोलाले बगाएर मृत्यु भएको छ । गोठाला जाने क्रममा सोमबार राप्ती खोलाले बगाएर बेपत्ता भएका राई मनहरीकै मचाङमा घाइते अवस्थामा फेला परेका थिए ।

घाइते अवस्थामा भेटिएका उनलाई मनहरी अस्पतालमा प्रारम्भिक उपचार पश्चात् थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।