मकवानपुरमा स्क्रब टाइफसका ९० जना बिरामी फेला

तु खबर संवाददाता
२०८१ भाद्र १४, शुक्रबार १७:२९

मकवानपुर । मकवानपुरमा स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् ।

गत साउन महिनादेखि हालसम्म मकवानपुरमा स्क्रब टाइफसका ९० जना बिरामी फेला परेको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्लाको हेटौंडा उपमहानगरपालिकामा ३३ महिला र १७ पुरुष गरी ५० जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको छ ।

यस्तै, मकवानपुरगढी गाउँपालिकामा ७ महिला र ४ पुरुष गरी ११ जना, बागमती गाउँपालिकामा एक जना पुरुष, कैलाश गाउँपालिकामा एक जना महिला, मनहरी गाउँपालिकामा ३ पुरुष र ७ जना महिला गरी १० जना स्क्रब टाइफसको संक्रमण पुष्टि भएको छ ।

यसैगरी, इन्द्रसरोवर गाउँपालिकामा एक जना महिला, भीमफेदी गाउँपालिकामा ५ जना महिला, बकैया गाउँपालिकामा ४ पुरुष र ५ महिला गरी ९ जना, राक्सिराङ गाउँपालिकामा एक जना महिला र अन्य जिल्लाका एक जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको छ ।

जिल्लाको थाहा नगरपालिकामा भने हालसम्म स्क्रब टाइफसको बिरामी फेला नपरेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

माइट नामक किर्नाको टोकाइबाट स्क्रब टाइफस हुने भएकाले सरसफाईमा विशेष ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीहरूले जोड दिएका छन् ।

झाडी, झ्याङ भएका ठाउँमा माइट बस्ने भएकाले सकभर त्यस्तो ठाउँमा नबस्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।