देशभरका पाँच जिल्लामा भेटियो हैजाको बिरामी

तु खबर संवाददाता
२०८१ श्रावण २१, सोमबार १०:१४

काठमाडौं । देशभरका विभिन्न पाँच जिल्लामा हैजा रोग (कोलेरा) को बिरामी भेटिएका छन् । दिसाको माध्यमबाट सर्ने महामारोजन्य रोग हैजा (कोलेरा) काठमाडौं उपत्यकासहित पाँच जिल्लामा देखिएको होे ।

स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार, काठमाडौं उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा हैजा रोगका बिरामी भेटिएका छन् ।

यसैगरी, प्युठान र कैलाली जिल्लामा पनि यस रोगका बिरामी भेटिएका छन् । ती सबै जिल्लामा गरी हालसम्म २७ जनामा उक्त रोगको संक्रमण पुष्टि भएको जनाइएको छ ।

हैजा पुष्टि हुनेमा ललितपुर, काठमाडौं र भक्तपुरमा गरी १७ जना, कैलालीमा आठ र प्युठानमा दुई जना रहेका छन् ।

हैजाबाट बच्न खानेपानीमा विशेष सावधानी अपनाउनु पर्दछ । त्यसका लागि खानेपानी तथा ढल निकास व्यवस्था विभाग, पानी उद्योगी, खानेपानी उपभोक्ता समिति, सरसफाइसम्बन्धी काम गर्ने विभिन्न संघसंस्थाको दायित्व र भूमिका महत्वपूर्ण हुने जनाइएको छ ।