आज आदिकवि भानुभक्तको जन्मजयन्ती मनाइँदै

तु खबर संवाददाता
२०८१ असार २९, शनिबार ०९:०७

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११ औँ जन्मजयन्ती आज मनाइँदैछ ।

देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी आदिकवि भानुभक्तको जन्मजयन्ती मनाइने भएको हो ।

पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका थिए ।

आदिकवि भानुभक्त विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका थिए ।

उनका ‘वधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायतका कृति छन् ।

उनको विसं १९२५ असोजमा निधन भएको थियो ।