नारायणगढ–मुग्लिन सडकखण्डमा पुरिएको २ वटा बस अझै भेटिएन

तु खबर संवाददाता
२०८१ असार २८, शुक्रबार १५:५५

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अन्र्तगत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसाएका दुई वटा बस अझै पनि भेटिएका छैनन् ।

सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेनाको गोतखोर टोली र नेपाल प्रहरीले बस खसेको केही बेरमै खोजी सुरु गरे पनि बसको अवस्था पत्ता नलागेको जनाइएको छ ।

त्रिशूली नदीमा बाढीको चाप बढ्दै गएको, पानी धमिलो भएको, बस खसेको ठाउँ एकदमै अफ्ठ्यारो भएकाले खोज्न समस्या भइरहेको जनाइएको छ ।

सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन शिक्षालय कुरिनटारबाट एसएसपी माधव पौडेलको कमाण्डमा अहिले ७० जनाको टोली खोजी तथा उद्दारमा खटिएको छ ।

बस नदी किनारमा पहिरोमा पुरिएको हुनसक्ने पनि आशंका गरिएका भएपनि अहिले नै पहिरो पन्छाएर खोज्न सक्ने अवस्था नरहेको पनि बताइएको छ ।

वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बसलाई आज बिहान करिब साढे ३ बजेको समयमा पहिरोमा पुरिएको हो ।

पहिरोमा परेर बससहित यात्रुहरु बेपत्ता छन् । प्रहरीका अनुसार, गणपति डिलक्स बसमा चालक र सहचालकसहित ३१ जना यात्रु रहेको खुल्न आएको छ भने एन्जल डिलक्समा २४ जना यात्रु रहेको खुल्न आएको छ ।

तीमध्ये रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स बसका तीन जना यात्रुहरुले भने हामफालेर ज्यान जोगाएका छन् । अन्य भने बेपत्ता नै छन् ।