ढुंगाले लागेर बस चालकको मृत्यु
चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ सत्रकिलो भन्ने ठाउँमा माथिबाट खसेको ढुंगा लागेर बस चालकको मृत्यु भएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत पर्ने उक्त स्थानमा माथिबाट खसेको ढुंगा लागेर नवलपरासी सुनवल नगरपालिका–४ बस्ने ३६ वर्षीय मेघनाथ विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार, मृतक विक लु २ ख ६५६६ नम्बरको बस चालक हुन् । उक्त बस बुटवलबाट काठमाडौं जाँदै गरेको थियो ।
ढुंगा लागेर गम्भीर घाइते भएका विकको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जनाइएको छ ।
बस घटनास्थलमा नै रहेको र बसमा सवार यात्रुहरू सकुशल रहेको प्रहरीले जनाएको छ ।
