हत्यामा संलग्न तीन जना पक्राउ
बारा । बाराको कलैया उपमहानगरपालिका–५, पर्साटोल बस्ने ५५ वर्षीय रामएकवाल पण्डित कुम्हार र बारा आदर्शकोतवाल गाउँपालिका–५ बस्ने ३४ वर्षीय सुरेश ठाकुरको हत्यामा संलग्न रहेको आरोपमा मंगलबार प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पर्साको जगरनाथपुर गाउँपालिका–५ बस्ने ३२ वर्षीय सन्तोष प्रसाद कुम्हार, सोही गाउँपालिका–५ बस्ने ४५ वर्षीय महादेव महतो नुनिया र बाराको कलैया उपमहानगरपालिका–५ घर भएका ३३ वर्षीय लक्ष्मण कुमार प्रजापति रहेका छन् ।
प्रहरीका अनुसार, पर्साको जगरनाथपुर गाउँपालिका–१ बिसुनपूर्वा टोलस्थित ओरिया खोलाको किनारमा गत जेठ २९ गते रामएकवाल र सुरेशको शव फेला परेको थियो । उक्त घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
पारिवारिक रिसईवी तथा जग्गा जमिनको विवादको विषयलाई लिएर योजनावद्ध तरिकाले उनीहरूले हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको जनाइएको छ ।
पक्राउ परेका उनीहरूमाथि ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिइ थप अनुसन्धान गर्नुका साथै प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी गरिरहेको छ ।
