एसईईमा उत्कृष्ट भएका विद्यार्थी र शिक्षकलाई सम्मान
मकवानपुर । माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र शिक्षकलाई सम्मान गरिएको छ ।
हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयले २०८० को एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र उत्कृष्ट शिक्षकहरुलाई सम्मानसहित पुरस्कृत गरेको हो ।
४ नम्वर वडाले शैक्षिक गुणस्तर सुधार समिति हेटौंडाको व्यवस्थापनमा उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष श्रीराम दाहालको सभाध्यक्षता एवम् बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा भएको हो ।
सो क्रममा बोल्दै पूर्व मुख्यमन्त्री पौडेलले ४ नम्बर वडाले शिक्षाको क्षेत्रमा धेरै गतिविधि गरिरहेको बताउँदै हेटौंडा शैक्षिक हबको रुपमा विकास हुँदै गएको बताए । उनले अब उच्च शिक्षा तथा विश्व विध्यालयमा अध्ययनका लागि कोही पनि भिसा लगाएर विदेश जान नपर्ने दाबी गरे ।
यस्तै, ४ नम्वर वडा अध्यक्ष नविन सिग्देलले शिक्षाको क्षेत्रमा आमूल परिवर्तन ल्याउन वडा लागिपरेको बताए । साथै उनले शिक्षा क्षेत्रको विकासको लागि आफ्नो वडाबाट विभिन्न कार्यक्रम गर्दै आएको आगामी दिनमा पनि गर्ने प्रतिवद्धता गरे ।
कार्यक्रममा कार्यपालिका तथा १ नम्बर वडा सदस्य इश्वरी रसाइली, वडा नम्बर ४ का वडा सदस्य जेयन श्रेष्ठ, नेपाली कांग्रेसका नेता प्रदीप कोइराला, हेटौंडा क्याम्पस प्रमुख देविराम लामा, प्याब्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदी लगायतको आतिथ्यता रहेको थियोे ।
