हेटौंडामा मुख्य न्यायाधिवक्ताको सम्मेलन सम्पन्न
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजित मुख्य न्यायाधिवक्ताको सम्मेलन सम्पन्न भएको छ ।
मुख्य न्यायाधिवक्ताको कार्यालयद्वारा आयोजित उक्त सम्मेलन शुक्रबार सम्पन्न भएको हो । सम्मेलन बिहीबारबाट सुरु भएको थियो ।
मुख्य न्यायाधिवक्ताको सम्मेलनले १३ बुँदे घोषणापत्र जारी गरेको छ । सम्मेलनले प्रदेशको राजधानी बाहिर मुकाम रहेका उच्च अदालतलाई यथाशीघ्र प्रदेशको राजधानीमा मुकाम कायम गर्न माग गरेको छ ।
संविधानको धारा १५६ मा भएको प्रदेश न्याय सेवा आयोग सम्बन्धी कानुन तत्काल निर्माण गर्न पनि सम्मेलनले माग गरेको छ ।
यसैगरी, सम्मेलनले विशेष प्रकृतिका राष्ट्रिय महत्त्वका विषय समेटिएका रिटहरू बाहेक अन्य रिटको क्षेत्राधिकार उच्च अदालतलाई प्रदान गरी उच्च अदालतलाई समेत अभिलेख अदालत बनाउने, उच्च अदालतले गरेका निर्णय (फैसला) हरूको अभिलेख राख्न तथा त्यस्ता फैसलाहरू प्रादेशिक क्षेत्रभित्र नजिरसरह बाध्यकारी बनाउन माग गरेको छ ।
कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, सातै प्रदेशका मुख्य न्यायाधिवक्ता लगायतको आतिथ्यता रहेको थियो ।
