मकवानपुरका झण्डै २१ सय विद्यार्थी कक्षा ११ मा भर्ना हुन योग्य

तु खबर संवाददाता
२०८१ असार १४, शुक्रबार ०९:३७

मकवानपुर । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मकवानपुरका झण्डै २१ सय विद्यार्थी कक्षा ११ भर्ना हुन योग्य भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजा अनुसार, जिल्लाका २ हजार ९८ जना विद्यार्थी कक्षा ११ भर्ना हुन योग्य भएका हुन् ।

मकवानपुरका ५ हजार ७ सय ५२ परीक्षार्थी एसईईमा सहभागी भएका थिए । तीमध्ये ३६ दशमलव ४७ प्रतिशत विद्यार्थी मात्रै ११ कक्षा भर्ना हुन योग्य भएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले जनाएको छ ।

समन्वय इकाईका अनुसार, एसईईमा सहभागी जिल्लाका ३ हजार ६ सय ५४ जना विद्यार्थी कक्षा ११ भर्ना नपाउने (नन ग्रेडेड– एनजी) भएका छन् ।

मकवानपुरबाट जीपीए ३.६ देखि ४ सम्म ल्याउने २ सय ५८ जना, जीपीए ३.२ देखि ३.६ सम्म ल्याउने ५ सय ९२ जना, जीपीए २.८ देखि ३.२ सम्म ल्याउने ७ सय ६५ जना, जीपीए २.४ देखि २.८ सम्म ल्याउने ४ सय ५१ जना, जीपीए २.० देखि २.४ ल्याउने ३२ जना रहेका छन् ।

२ वटा विषयसम्म एनजी हुने विद्यार्थीले ग्रेड वृद्धिका लागि मौका परीक्षा दिन पाउनेछन् । त्यसको लागि राष्ट्रिय परीक्षा बोर्डले आगामी साउन १८ र १९ गते ग्रेडवृद्धि परीक्षाको तालिका तोकेको छ ।