मकवानपुरका किसानलाई पशु औषधी जन्य सामाग्री हस्तान्तरण

तु खबर संवाददाता
२०८१ असार ६, बिहीबार १७:१६

मकवानपुर । नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना (एन.एल.एस.आई.पी) हेटौंडा कार्यालयले मकवानपुरका किसानहरुलाई पशु औषधी जन्य सामाग्री हस्तान्तरण गरेको छ ।

बिहीबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर १, चौकीटोलमा रहेको मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघको कार्यालय हलमा एक कार्यक्रमको आयोजना गरी मकवानपुरका २२ जना किसानहरुलाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।

कार्यक्रम एन.एल.एस.आई.पी. हेटौंडा कार्यालयका आयोजना प्रमुख डाक्टर बिदुर गौतमको अध्यक्षता एवम् बागमती प्रदेश दुग्ध विकास बोर्डका बोर्ड सदस्य बासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा जिल्ला सहकारी संघका व्यवस्थापक गोविन्द दहाल, जिल्ला दुग्ध उत्पादक सहकारी संघका व्यवस्थापक कुमारमणी दहाल, एन.एल.एस.आई.पी.का पशु चिकित्सक मिथलेस कर्ण, पशु स्वास्थ्य प्राविधिकहरु धन बहादुर रावत, मुकेश यादव लगायतकाको उपस्थिति रहेकोे थियो ।

वितरण गरिएको सामाग्रीहरुमा नाम्लेजुका परजीवी नियन्त्रणको औषधी, पशुहरुमा लाग्ने थुनेलो रोग परीक्षणका लागि आवश्यक औजारसहितको औषधी लगायतका सामाग्रीहरु गरि एक जनालाई झण्डै २० हजार जतिको सामाग्री वितरण गरिएको आयोजना प्रमुख डाक्टर गौतमले जानकारी दिए ।

सो कार्यक्रमका लागि मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले संघमा आवद्ध मकवानपुरका ११ संस्थाहरु छनौट गरेको र छनौट भएका ति संस्थाहरूले २–२ जना व्यवसायिक किसान छनौट गरेका थिए ।

सोहि आयोजनाको सहयोगमा संघले केहि दिन पहिला मकवानपुरका २० वटा दुग्ध सहकारीहरुलाई टियोसेन्टी र सुडान घाँसको बिउ समेत वितरण गरेको संघका व्यवस्थापक कुमारमणी दहालले बताए ।