कस्तो रहला आज दिनभरको मौसम ?
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको र बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार, त्यसको प्रभावले कोशी र मधेस प्रदेशमा साधरणतया बदली, गण्डकी र बागमती प्रदेशमा आंशिकदेखि साधरणतया बदली भई बाँकी भूभागमा आंशिक बदली रही कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस र बागमती प्रदेशका केही स्थानहरुमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।
यस्तै, आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहने छ भने कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेश लगायत बाँकी भूभागका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यसैगरी, आज राति कोशी र मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।
