हेटौंडा उपमहानगरपालिकाद्वारा आवधिक विकास योजना सार्वजनिक

तु खबर संवाददाता
२०८१ जेष्ठ २५, शुक्रबार १६:५१

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले आवधिक विकास योजना सार्वजनिक गरेको छ । उपमहानगरपालिकाले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै आजधिक विकास योजना सार्वजनिक गरेको हो ।

आगामी आर्थिक वर्ष २०८१/०८२ देखि आर्थिक वर्ष २०८५/०८६ सम्मका लागि तयार पारिएको पञ्च वर्षीय योजना सार्वजनिक गरिएको हो । योजनामा कृषि, पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्य क्षेत्रलाई उपमहानगरले मुख्य प्राथमिकतामा राखेको छ ।

त्यसैगरी, उपमहानगरले हेटौंडा कम्प्लेक्स, टर्मिनल बसपार्क निर्माण, चक्रपथ निर्माण, कर्रा करिडोर, अटो भिलेज निर्माण गरी ४४ वटा नगर गौरवका योजनालाई आवधिक योजनामा समावेश गरेको छ ।

पञ्च वर्षीय आवधिक योजनाका लागि ६ अर्ब ५६ करोड बजेट अनुमान गरिएको छ । उपमहानगरले आवधिक योजनाका लागि आन्तरिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय आर्थिक स्रोत समेत सुनिश्चित गरेको छ ।

कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिसहित विभिन्न क्षेत्रका सरोकारवाला निकायका प्रतिनिधिले सुझाव दिएका थिए ।

कार्यक्रममा मेयर लामा सहित उपमेयर राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत रामबाबु पुरीलगायतको आतिथ्यता रहेको थियो ।