दुर्लभ वनस्पति भोटे लहरा वृक्षारोपण तथा सचेतनामूलक कार्यक्रम

तु खबर संवाददाता
२०८१ जेष्ठ २४, बिहीबार ०९:४६

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७, राजदेवीमा दुर्लभ वनस्पति भोटे लहरा वृक्षारोपण तथा सचेतनामूलक कार्यक्रम गरिएको छ ।

अशोक सामुदायिक वन उपभोक्ता समुहले विश्व वातावरण दिवस २०२४ को अवसरमा उक्त वृक्षारोपण तथा सचेतनामूलक कार्यक्रमको आयोजना गरेको हो ।

सो क्रममा ‘हाम्रो भूमी, हाम्रो भविष्य’ को सन्दर्भमा प्रभातफेरि कार्यक्रम पनि आयोजना भएको थियो । प्रभातफेरी कार्यक्रममा राजदेवी माविका विद्यार्थीहरुले वातावरण संरक्षणमा विरुवा रोपणको महत्व तथा दुर्लभ वनस्पति भोटेलहरा संरक्षण गर्नुपर्ने जस्ता विभिन्न नाराहरु लगाएका थिए ।

कार्यक्रम अशोक सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष रमेश राईको अध्यक्षतामा भएको हो ।

कार्यक्रममा वनस्पति अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक अधिकृत रघुराम पराजुली, वडा सदस्य नवराज न्यौपाने, सव डिभिजन वन कार्यालयका अधिकृत हरि खड्का, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, राजदेवी माविका प्रधानाध्यापक, अशोक सामुदायिक वन उपभोक्ता समिति, रानी सामुदायिक वन उपभोक्ता समिति चुच्चेखोला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष तथा विभिन्न संघसंस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा वनस्पति अनुसन्धान केन्द्रका कार्यालय प्रमुख रघुराम पराजुलीले दुर्लभ वनस्पति भोटे लहरा, वातावरण संरक्षणमा विभिन्न पक्षले निभाउनु पर्ने भूमिका तथा वनस्पति अनुसन्धान केन्द्रले वनस्पतिक प्रवर्द्धनका लागि चालेका कदमहरु लगायतका विषयमा राजदेवी माविको सभाहलमा प्रस्तुत गरेका थिए ।