सहकारी विश्वविद्यालय र महिला उद्यमी बैंक स्थापनाको लागि रणनीतिक योजना सार्वजनिक

तु खबर संवाददाता
२०८१ जेष्ठ २३, बुधबार १७:२३

मकवानपुर । सामाजिक उद्यमी महिला सञ्जाल नेपाल (सेवा नेपाल) ले सहकारी विश्वविद्यालय र महिला उद्यमी बैंक स्थापना गर्ने गरी १० वर्षे परिकल्पना र दुई वर्षे रणनीतिक योजना सार्वजनिक गरेको छ ।

बुधबार हेटौंडामा आयोजना गरिएको सामाजिक उद्यमी महिला सहकारीहरुको अवस्थाबारे नीतिगत पैरबी सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उक्त परिकल्पना र रणनीतिक योजना सार्वजनिक गरिएको हो ।

सेवा नेपालले स्वदेशमै युवाहरुलाई रोजगारी सृजना गर्न विश्वविद्यालय र विपन्न महिलाहरुको आर्थिक अवस्थामा सुधार ल्याउन सहकारी बैंक स्थापना गर्ने गरी परिकल्पना तयार गरेको छ ।

महिला उद्यमीको नेतृत्वमा सहकारी विश्व विद्यालय स्थापना गरी व्यवसायिक शिक्षा प्रदान गर्ने योजना रहेको छ । विदेशमा श्रम गरिरहेका युवाहरुलाई स्वदेश फर्काएर विश्व विद्यालयमार्फत् स्वदेशमै रोजगारी सृजना गर्ने रणनीतिक योजनामा उल्लेख गरिएको छ ।

युवाहरुलाई सहकारी विश्व विद्यालयमा अध्यायन गराएर स्वदेशमै कर्म गर्न सिकाउने र आम्दानीको पहिचानको लागि ज्ञान तथा सीप प्रदान गर्ने तथा सहकारी बैंक स्थापना गरी उद्यमी बन्न चाहने महिलाहरुलाई सुलभ व्याजदरमा ऋण प्रदान गर्ने र देशभरका आर्थिक अबस्था कमजोर भएका महिलाहरुलाई आबद्ध बनाउने योजना रहेको छ ।

२० अर्ब पूँजिसहितको महिला उद्यमी बैंक स्थापना गरी सदस्यहरुलाई सुलभ ऋण र बिमा सेवा उपलब्ध गराउने, नेपालका सातवटै प्रदेश समेटिने गरी १५ लाख सदस्यसहित एक हजार महिला उद्यमी सहकारी सेवा नेपालमा आबद्ध गराई उनीहरुको जीवन स्तर सुधार गर्ने, महिला उद्यमी उद्योग सञ्चालन गरी व्यवसाय विकास र व्यापार प्रर्वद्धन गर्ने, महिला उद्यमीको नेतृत्वमा सहकारी विश्व विद्यालयले व्यवसायिक शिक्षा प्रदान गर्ने लगायतका विषयवस्तु समावेश रणनीतिक योजना र परिकल्पना तयार गरिएको सेवा नेपालकी कार्यकारी निर्देशक विष्णुकुमारी नेपालले जानकारी दिइन् ।

त्यसैगरी, उत्पादन र बजारिकरणको लागि महिला उद्यमी उद्योग र व्यवसाय सञ्चालन गर्ने, सामाजिक पूजी निर्माण र रुपान्तरण उनले बताइन् ।

कार्यक्रममा बागमती प्रदेशका सहकारी मन्त्री शैलेन्द्रमान बज्रचार्यले उद्यमी सहकारीले उत्पादन गरेका सामग्रीहरुलाई विश्व बजार सम्म लैजान नीतिगत सुधार गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए । सहकारीले घरजग्गामा लगानी गर्दा धरासायी बनेको भन्दै उनले सहकारी उत्पादनसंग जोडिनु पर्ने उनले बताए । उद्यमशिलता विकासको लागि उत्पादन र बजारीकरणमा देखिएका समस्या समाधानको लागि प्रक्रिया सुरु गरेको बताए ।

हेफर इन्टरनेशनल नेपालको सहयोगमा सेवा नेपाल र राष्ट्रिय सहकारी महासंघ नेपालले सयुक्त रुपमा कार्यक्रम आयोजना गरेको हो । राष्ट्रिय सहकारी महासंघ नेपालकी सञ्चालक तथा बागमती प्रदेश संयोजक र सेवा नेपालकी अध्यक्ष पार्वती न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

सो क्रममा सेवा नेपाली अध्यक्ष न्यौपानेले सरकारले उद्यमशिल महिलाहरुको अस्थित्व स्विकार्न नसकेको भन्दै नीतिगत सुुधारका लागि प्रदेश मन्त्रालयमा ध्यानकर्षण गराउने बताइन् । उनले सामाजिक उद्यमी महिला सहकारीलाई भिन्न प्रकृतिको विषयगत वर्गीकरणमा राख्नुपर्ने माग गरिन् । उद्यमी महिला सहकारीको संस्थागत विकास, सहकारीले उत्पादन गरेका सामग्रीको बजारिकरण र महिलाहरुको नेतृत्व विकासको लागि सेवा नेपालले काम गरिरहेको उनले बताइन् ।

कार्यक्रममा सेवा नेपालकी कार्यकारी निर्देशक विष्णुकुमारी नेपालले सेवा नेपालको स्थापना, उद्देश्य, परिकल्पना र रणनीतिक योजनाका बारेमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक बद्रि लम्साल, राष्ट्रिय सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटा, सहकारी संघ बागमती प्रदेशका अध्यक्ष रामहरि शर्मा घिमिरे, सेवा नेपालकी प्रदेश संयोजक शैलजा घिमिरे, सेवा नेपालकी सचिव कल्पना रिमाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।