एमाले मकवानपुरको अध्यक्षमा पोखरेल, उपाध्यक्षमा लामा निर्वाचित

तु खबर संवाददाता
२०८१ जेष्ठ २१, सोमबार १६:३५

मकवानपुर । नेकपा एमाले मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल निर्वाचित भएका छन् । एमाले जिल्ला अध्यक्षका अर्का प्रत्यासी इन्द्रमान स्याङ्तानलाई पराजित गर्दै पोखरेल निर्वाचित भएका हुन् ।

पोखरेलले ३१३ मत प्राप्त गर्दा स्याङ्तानले २६२ मत प्राप्त गरेका हुन् । यस्तै, अध्यक्षकै प्रतिस्पर्धी लालबहादुर थापाले १६६ मत र देवराज रिमालले ११ मत पाएका छन् ।

त्यस्तै, उपाध्यक्षमा हिदम लामा निर्वाचित भएका छन् । उपाध्यक्षका अर्का प्रत्यासी सुनिल मोक्तानलाई पराजित गर्दै लामा निर्वाचित भएका हुन् । लामाले ४७६ मत पाउँदा मोक्तानले १९७ मत प्राप्त गरे । उपाध्यक्षकै प्रतिस्पर्धी भरत दुलालले ३८ र धुर्व चौलागाईंले २६ मत पाएका छन् ।

यसैगरी, सचिवमा पदमा सीता विष्ट विजयी भएकी छन् । अर्का प्रतिस्पर्धी मदन दाहाललाई पराजित गर्दै विष्ट सचिवमा विजयी भएकी हुन् । यस्तै, सचिवकै अर्का प्रत्यासी राजन थापाले १७१ मत पाएका छन् ।

उपसचिव पुरुषतर्फ फुर्वा लामा २४१ मतसहित निर्वाचित भएका छन् । उक्त पदका अर्का उम्मेदवारहरु क्रमशः ईन्द्र नेपालले १२९, दिपक खड्काले १६७, खेम जर्गा मगरले १००, कृष्ण प्रसाद चौलागाईंले ८६ मत प्राप्त गरी उपसचिव पुरुषतर्फ पराजित भएका छन् ।

यसैगरी, उपसचिव महिलातर्फ भने आरती पाठक २४१ मतसहित विजयी भएकी छन् । उक्त पदका उम्मेदवारहरु क्रमशः जुना दाहालले १५२, पार्वती रानाले १७२, कल्पना बलामीले १५६ मतसहित पराजित भएका छन् ।

मत गणना हेटौंडा–४ पशुपति मन्दिर हलमा गरिएको हो । पदाधिकारीहरुको मत गणना सके लगत्तै सदस्य पदको मतगणना गरिनेछ । सदस्यहरुको मत साँझ ५ बजेदेखि गन्न सुरु गर्ने जनाइएको छ ।