वातावरण दिवसमा साइकल र्याली

तु खबर संवाददाता
२०८१ जेष्ठ २०, आईतवार १०:१५

मकवानपुर । डिभिजन वन कार्यालय मकवानपुरको आयोजना र हिमालयन राइडर्स सोसाइटीको समन्वयमा साइकल र्यालीको आयोजना गरिएको छ । विश्व वातावरण दिवसको अवसरमा शनिबार वातावरण सचेतना साइकल र्यालीको आयोजना गरिएको हो ।

‘साइकल चढौं, स्वस्थ रहौं, वातावरण जोगाऔं, आन्तरिक पर्यटनलाई प्रर्वद्वन गरौं’ भन्ने नारासहित आयोजित र्यालीमा मकवानपुर, बारा, चितवनका करिब २ सय जनाभन्दा बढीले सहभागिता जनाएका थिए ।

र्यालीको बागमती प्रदेशका उद्योग वाणिज्य, भूमि तथा प्रशासनमन्त्री प्रकाश श्रेष्ठले रिवन काटेर डिभिजन वन कार्यालयको परिसरबाट साइकल र्यालीको सुरुवात गरेका थिए ।

र्यालीमा ८ वर्षीय बालकदेखि ७१ वर्षीय जेष्ठ नागरिकको सहभागिता रहेको थियो । र्यालीमा सहभागीहरुले करिब २७ किलोमिटर राइड गरेका थिए ।

डिभिजन वन कार्यालय हेटौंडाबाट सुरु भएको र्याली सामरी, मेनरोड, फरेष्ट्री क्याम्पस, हुप्राचौर, कान्तिराजपथ, क्याम्पाडाँडा, गौरीटार रंगशाला, चौघडा, चुच्चेखोला, गैरीगाउँ हुँदै सालक पार्कमा पुगेर बिसर्जन गरिएको थियो ।