यार्सा सङ्कलनमा गएका चार जनाको लेक लागेर मृत्यु

तु खबर संवाददाता
२०८१ जेष्ठ २०, आईतवार ०९:२२
सांकेतिक तस्वीर

मुगु । यार्सागुम्बा सङ्कलन गर्न गएका मुगुका चार जनाको लेक लागेर मृत्यु भएको छ ।

मृत्गु हुनेमा छायानाथ रारा नगरपालिका–१० तल्लेख गाउँका देवराज बुढा, छायानाथ रारा नगरपालिका–१२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा, सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढा र राजबहादुर सावत रहेका छन् ।

लेक लागेर सिकिस्त बिरामी छायानाथ रारा नगरपालिका–१० का जीवन बुढा र देवराज बुढामध्ये देवराज बुढाको बाटोमा मृत्यु भएको मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले जानकारी दिए ।

मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीका अनुसार शनिबार मुगु स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि जिल्ला सदमुकाम गमगढीतर्फ ल्याउँदा छायानाथ रारा नगरपालिका–१० तल्लेख गाउँका दुईजना सिकिस्त बिरामी जीवन बुढा र देवराज बुढामध्ये २० वर्षीय देवराज बुढाको बाटोमा मृत्यु भएको हो ।

यस्तै, शनिबार नै पाटन ठूलो कोइकिमा लेक लागेर बिरामी परेपछि उपचारकालागि मुगु गाउँ ल्याइएका मानबहादुर बुढा, शोभान बुढा र राजबहादुर सावतको मृत्यु भएको थियो ।

लेक लागेर बिरामी भएका जीवनको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको जनाइएको छ ।