मकवानपुरका २२ हजार बालबालिकालाई आइपिभी खोप लगाइँदै

तु खबर संवाददाता
२०८१ जेष्ठ १०, बिहीबार १७:०८

मकवानपुर । मकवानपुरका २२ हजारभन्दा बढी बालबालिकालाई पोलियो रोगविरुद्धको आइपिभी खोप लगाउने भएको छ । जिल्लामा २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका २२ हजार ५ सय बालबालिकालाई आइपिभी खोप लगाउने भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

सो समयमा ‘आइपिभी’ खोप अभावका कारण खोप लगाउनबाट बञ्चित भएका बालबालिकालाई लक्षित गरी यही जेठ १३ गतेदेखि २६ गतेसम्म देशैभर एकैसाथ संचालन हुने अभियान अन्तरगत मकवानपुरका बालबालिकालाई पनि खोप लगाइने भएको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्ण बहादुर मिजारले जानकारी दिए ।

उनका अनुसार, स्वास्थ्य कार्यालय अनुसार, जिल्लाको १० वटै स्थानीय तहमा उक्त अभियान संचालन गरिनेछ । जसमा जेठ १३ देखि १९ गतेसम्म विद्यालय केन्द्रित खोप अभियान चलाइने र २६ गतेसम्म स्वास्थ्य केन्द्रमार्फत् खोप लगाउने व्यवस्था मिलाएको छ ।

खोप कार्यक्रम सम्पन्न गर्न मकवानपुरमा ५ सय ४३ खोप केन्द्र राखिने उनले बताए ।