जग्गा विवादमा कोदालो प्रहार गरी पुरुषको हत्या

तु खबर संवाददाता
२०८१ जेष्ठ ३, बिहीबार १६:४९

जनकपुरधाम । सिरहामा आज बिहान जग्गा विवादमा कोदालो प्रहार गरी एक पुरुषके हत्या भएको छ ।

जिल्लाको अर्नमा गाउँपालिका–२ ब्रहमपुरीका ५३ वर्षीय बुधराम महतोको कोदालो प्रहार गरी हत्या गरिएको हो ।

प्रहरीका अनुसार, बिहान बुधराम खेतमा खर लिन ट्याक्टर लिएर खेतमा पुगेका बेला स्थानीय बचाई महतोले कोदालो प्रहार गरेका थिए ।

कोदालो प्रहारबाट बुधरामको घटनास्थलमै मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ ।

कोदालो प्रहार गर्ने बचाई महतो हाल फरार रहेको र उनको खोजीकार्य भइरहेको छ ।

मृतक बुधराम र बचाईबीच लामो समयदेखि खेतको साँधसिमानाको विवाद भइरहेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।

मृतक बुधरामको शव परीक्षणको लागि प्रादेशिक अस्पताल सिरहा लगिएको र घटनाका विषयमा अनुसन्धान भइरहेको जनाइएको छ ।