बागमतीमा ११ हजारमा डेंगू, कुन जिल्लामा कति ?

तु खबर संवाददाता
२०८१ बैशाख २३, आईतवार १७:१०
file-photo

मकवानपुर । बागमती प्रदेशमा पछिल्लो समय डेंगू सङ्क्रमितको संख्या बढ्दो छ । चालु आर्थिक वर्षको पछिल्लो ९ महिनामा बागमती प्रदेशमा ११ हजारभन्दा बढीमा डेंगू संक्रमण पुष्टि भएको हो ।

बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार, चालु आव २०८०/०८१ को साउनदेखि हालसम्म प्रदेशमा ११ हजार चार सय ९ जना डेंगू संक्रमण पुष्टि भएको हो ।

तीमध्ये सबैभन्दा बढी धादिङ जिल्लामा डेंगू संक्रमित फेला परेका छन् । त्यहाँ सो अवधिमा ३ हजार ५ सय एक जनामा डेंगू संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशानलयका स्रोत व्यक्ति उत्तमप्रसाद प्याकुरेलले जानकारी दिए ।

यस्तै, सो अवधिमा काठमाडौंमा ३ हजार, चितवनमा एक हजार ७ सय ८, मकवानपुरमा ८ सय ५७, भक्तपुरमा ४ सय ९४, काभ्रेमा एक सय ६७, नुवाकोटमा ८१, दोलखामा ७९, रामेछापमा २७, सिन्धुपालञ्चोकमा ३२, सिन्धुलीमा २३ जना र रसुवामा २ जना नयाँ डंगू सङ्क्रमित भेटिएको हो ।

डेंगू सङ्क्रमणबाट हालसम्म मकवानपुरमा एक जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।