हेटौंडामा एक युवकमाथि खुकुरी प्रहार, दुई जना पक्राउ

तु खबर संवाददाता
२०८१ बैशाख २२, शनिबार १६:१३

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा शनिबार बिहान एक युवकमाथि खुकुरी प्रहार भएको छ ।

बिहान हेटौंडा उमहानगरपालिका वडा नं. १० बसपार्कमा जितपुर–सिमरा उपमहानगरपालिका वडा नं.१६ महेन्द्रनगर बस्ने आयुष कुँवरमाथि खुकुरी प्रहार भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार, १९ वर्षीय आयुषमाथि हेटौंडा उपमहानगरपालिका वडा नं.३ बसामाडी घर भई हाल हेटौंडा–११ थानाभ¥याङ डेरा गरी बस्ने २० वर्षीय समिर थिङ र १८ वर्षीय पञ्चबहादुर तामाङले खुकुरी प्रहार गरेका हुन् ।

खुकुरी प्रहारबाट टाउको, गर्दन र दाहिने हातको कान्छि औलामा चोट लागेको आयुषको अवस्था गम्भीर रहेको छ । खुकुरी प्रहारपछि उनलाई तत्काल उपचारको लागि हेटौंडा अस्पतालमा लगिएको थियो ।

उनको हेटौंडा अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि बिहानै हेटौंडा–११, थानाभर्याङस्थ्ति चुरेहिल अस्पतालमा रिफर गरिएको छ ।

खुकुरी प्रहार गर्ने ती दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनु्सन्धान गरिरहेको जनाएको छ ।