घरमा आगलागी हुँदा एक दम्पतीको जलेर मृत्यु

तु खबर संवाददाता
२०८१ बैशाख २०, बिहीबार १०:२६
file-photo

काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–५, गैरीखर्कमा गएराति आगलागी हुँदा एक दम्पतीको जलेर मृत्यु भएको छ । स्थानीय तेजबहादुर लामाको घरमा आगलागी हुँदा दम्पतीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ७० वर्षीय तेजबहादुर र उनकी श्रीमती ठूली तामाङ रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, गएराति साढे ११ बजे प्रहरीले आगलागीको खबर पाएको थियो । नजिकको हाप्सेचौर अस्थायी प्रहरी पोष्टबाट प्रहरी टोली पुग्दा घर पूरै जलिरहेको थियो ।

राति साढे १२ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको र भित्र हेर्दा दुई जनाको मृत्यु भएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको छ ।