प्रदूषण बढेपछि अनिवार्य मास्क लगाउन आग्रह

तु खबर संवाददाता
२०८१ बैशाख १८, मंगलवार १६:४४

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा वायु प्रदूषण बढेकाले अनिवार्य मास्क लगाउन आग्रह गरेको छ ।

मन्त्रालयले काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै मास्क लगाउन आग्रह गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले एक विज्ञप्ति जारी गर्दै काठमाडौंमा वायु प्रदूषण अत्यधिक रहेकाले सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन, यात्रा नगर्न र अत्यधिक प्रदूषित क्षेत्रबाट टाढा रहन आग्रह गरेका हुन् ।

विश्वभरिको वायु प्रदूषणको अवस्था मापन गर्ने ‘वर्ल्ड एयर क्वालिटी इन्डेक्स–र्याकिङ्ग’ अनुसार काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको छ ।

वायु प्रदूषणले मुटु तथा रक्तनली, फोक्सो, मस्तिष्क, आँखा, नाक, कान, घाँटी आदिमा असर पुर्याउनुका साथै दम, क्यान्सर आदिको जोखिम पनि बढ्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, वायु प्रदूषणले गर्दा कम तौल भएको बच्चा जन्मने र अवधि नपुग्दै बच्चा जन्मने जोखिमसमेत हुने प्रवक्ता बुढाथोकीले बताए ।